नेपाल आदिवासी जनजाति महासंघ हङकङको आन्दोलनले सफलता प्राप्त गरेको सन्दर्भमा:- नेपाल सरकारको निर्णय प्रति धन्यवाद

0 800

नेपाल सरकारले ढिलै भए पनि हङकङको लागी नेपाली महाबणिज्यदुत आदिवासी जनजाति मुलका नेपाल सरकारको सहसचिव श्री उदय राना मगरलाई नियुक्ति गरेर नेपाल आदिवासी जनजाति महासंघ हङकङको मागलाई सम्बोधन गरेकोमा नेपाल सरकार प्रति हार्दिक आभारप्रकट र धन्यवाद टक्रयाउदै नवनियुक्त हङकङका लागी नेपाली महाबाणिजदुत श्री उदय राना मगर ज्युलाई हार्दिक बधाइ र सफल कार्यकालको लागी शुभकामना टक्रयाउदछु ।
नेपाल सरकारको मन्त्री परिषदको बैठकले गत भाद्र १३ गते आइतवारको दिन हङकङको लागी नेपाली महाबाणिज्यदुत उदय राना मगर ज्युलाई नियुक्ति गर्ने ऐतिहासिक निर्णय गरेको छ । किन भने हङकङका लागी नेपाली महाबाणिज्यदुत आदिवासी जनजाति मुलका यो भन्दा पहिले थिएन । हङकङमा पुग नपुग ५०००० हजारको हाराहरिमा नेपालीहरूले बसोवास गरेका छन । जस मध्ये ९८% आदिवासी जनजाति रहेका छन । हङकङमा नेपाली आदिवासी जनजातिहरूको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ हङकङ स्थापित छ । जुन संस्थाले बिगत १४ बर्ष देखी नेपाल सरकार संग आदिवासी जनजाति मुलका महाबाणिज्यदुत पठाइओस भन्ने माग राखेकोमा सरकारले बेवास्था गरेको कारण शान्तिपूर्ण आन्दोलन गर्न बाध्य पारिएको थियो । महासंघको मागलाई नेपाल सरकारले बेवास्था गर्दा हङकङमा कार्यरत महाणिज्यदुतहरूले सामाजिक बहिष्कार जस्तो अपमान भोग्नु परेको थियो भने नेपालका नेताहरूले हङकङेली नेपालीहरूबाट कालो झण्डाको बिरोध सम्म खेप्नु परेको थियो । हङकङका नेपालीहरूको अनवरत आन्दोलनका कारण आखिर नेपाल सरकारले माग पुरा गर्न बाध्य भयो । त्यसैको परिणाम हो । उदय राना मगरको नियुक्ति ।
हंगकंगमा नेपालीको प्रवेश :-
हङकङको सन्दर्भमा कुरा गर्नु पर्दा हङकङमा नेपालीहरूको प्रवेश कसरी भयो भन्ने कुरा जानकारी लिनु अत्यन्त आवश्यक देखिन्छ । १९९७ भन्दा पहिले हङकङ बेलायत सरकारको अधिनमा रहेको थियो । हङकङ १९९७ पछि मात्र चिन सरकारको स्वशासित क्षेत्रको रूपमा रहेको छ । हङकङ बेलायत सरकारको अधिनमा रहंदा हङकङको शान्ती सुरक्षा र बिकास निर्माणका लागी बेलायती सेनामा सेवारत गोर्खाहरू हङकङको भुमीमा रहेका थिए र गोर्खा सेनाका परिवार पनि जागिरको सन्दर्भमा निश्चित समयका लागी जान र बस्न पाउने हुंदा हङकङमा सेवारत गोर्खा सेनाका परिवारहरूबाट कयौं नानीहरू जन्मेका थिए । बेलायत सरकारको शान्ती सुरक्षा र बिकास निर्माणमा महत्वपुर्ण भुमीका खेलेका गोर्खाहरूको योगदान र बलिदानलाई बेलायत सरकारबाट बेवास्था र भेदभाव गरिरहेका कारण सचेत गोर्खाहरूले गोर्खाहरूलाई गरेको भेदभाव बिरूद्ध आवाज उठाउन गोर्खा भुतपुर्व सैनिक संघ स्थापना गरेका थिए । जुन हाल सम्म पनि अनवरत संघर्षमा गोर्खाहरू हुनु हुन्छ । गेसोले आम गोर्खाहरूलाई संगठित गरि समानधिकारको लागी अनवरत संघर्षका कारण हङकङमा जन्मेका गोर्खाका सन्तानहरूलाई आवासिय सुविधा दिने निर्णय बेलायत सरकारले गर्यो । बेलायत सरकारको निर्णयका कारण हङकङमा गोर्खाका सन्तान नेपालीहरूको प्रवेस भएको हो । हामी सबैलाई थाहै भएको कुरा हो कि गोर्खा सेनामा सेवारत कुन समुदयका थिए त भन्दा नेपालका आदिवासी जनजातिहरूनै थिए । हाल सम्म पनि बेलायती सेनामा आदिवासी जनजाति मुलकै बाहुल्य छ ।
गोर्खा भर्ति कति ठिक कति बेठिक :-
गोर्खा भर्ती कति ठिक थिए र छ वा ठिक थिएन वा बाध्यता थियो भन्ने बिषयमा कुरा गर्नु पर्दा हिजोको सन्दर्भमा शासकहरूको स्वार्थ पुरा गर्न गोर्खा भर्तिको शुरूवात भएको बुझिन्छ तर पछि आएर रोजगारको अवसरको उच्चतम स्थान ओगाट्न सम्म पुगेको देखिन्छ । अहिले हाल सम्म पनि युवाहरूको बृटिस गोर्खा भर्ति पहिलो रोजाइमा पर्दछ । अहिलेको सन्दर्भमा पनि मुलुकको अवस्थालाई हेर्दा त गोर्खी भर्ति वा बेलायती सेनामा भर्ति भएर रोजगारको राम्रो अवसर मिल्यो भन्न सकिन्छ तर अरूको देशको लागी रगत र पसिना बगाउनु पर्ने, प्रथम विश्व युद्ध र दोश्रो युद्धमा ज्यान गुमाएको अंगभंग भएको काहाली लाग्दो दुख्ख पाएको र मुलुकमा बसेर सेवा गर्ने अवसर गुमाउदाको कारण आज मुलुकको निति नियम बनाउने ठाउमा पुग्न नसकेको अवस्थालाई हेर्दा अत्यन्त दुख्ख लागेर आउछ ।
हुनत गोर्खाका सन्तानले बिकसित मुलुकको बिकसित क्षेत्रमा बस्ने सेवा गर्ने अवसर त मिल्यो तर हिजो गोर्खा भर्तिको नाममा सक्षम आदिवासी जनजाति युवाहरूलाई बिदेशी सेनामा सेवा गर्न पठाएर राज्यले जुन किसिमको षडायन्त्र रचेका थिए । त्त्यो षडायन्त्रको मार अहिले सम्म पनि आदिवासी जनजातिहरूले खेप्नु परि रहेको छ । अहिले पनि हङकङको आवसिय सुविधालाई उच्चातम बैदेशिक रोजगारको रूपमा हेरिन्छ र पछिल्ला दिनहरूमा युकेको आवसिय सुबिधालाई पनि उच्चाचम रोजगारको रूपमा हाम्रा समुदयले हेरेको देखिन्छ । यो मुलुकको परिश्थितीमा सत्य र सही होला तर हङकङको आवसिय सुबिधा हुनु भन्दा पहिला आदिवासी जनजाति मुलका गोर्खा सैनिकका छोरा छोरीहरूले जुन किसिमको प्रगति मुलुकमा गर्न लागिरहेका थिए । त्यस प्रगतिमा बाधा पुग्न पुग्यो । गोर्खाका सन्तानहरू डाक्टर, इन्जीनियर बनेका थिए । नेपाल सरकारको सेवामा सबैले चासो लिएको अवस्था थियो तर ति सबै कुराहरू ओझेलमा पर्न गयो । अवसरको नाममा गोर्खाका सन्तानहरू आफ्नो मुलुकको सेवा गर्ने अवसर गुमाउदै बिकसित राष्ट्र र बिकसित ठाउमा त पुगे तर कन्स्ट्रक्शन्सका कामदार, रेष्टुरेन्टका कामदार र सेकुरिटी गार्ड बन्न पुगे । यस्तो अवस्थालाई हामी सबै आदिवासी जनजाति राजनेता, बुद्धिजीवी र समाजसेवीहरूले के सम्झनु पर्छ भने गोर्खाका सन्तानहरूको रूपान्तरण कुन ठाउंमा भयो । गोर्खाहरू भनेको बहुसंख्यक नेपालका आदिवासी जनजातिहरू हुन । यिनीहरू राष्ट्रको मुलधारमा आउन नसक्नु मुल कारण गोर्खा भर्तिनै हो र अहिले आएर बैदेशिक रोजगार नै हो भनेर सम्झनु पर्ने हुन्छ ।
विदेशमा बस्ने आम नेपालीको मुलुक प्रतिको योगदान कस्तो छ र राज्यले कसरी हेरेको छ :-
मुलुकको अवस्थालाई मध्येनजर गरेर हेर्दा हामी हाम्रो सुन्दर देश नेपालमा जन्मियौं, हुर्कियौं, पढियो तर रोजगार नपाएका कारण बैदेशिक रोजगार रोज्न बाध्य भइयो । यो सरकारमा हालि मुहाली भएका सबै खालका व्याक्तिहरूलाई जानकारी छ र पार्टी नेता समाजसेवीहरूलाई पनि थाहा छ । हामी युवाहरूले पनि बुझेका छौं कि कुनै उपय नभए पछि सरकारको सहयोगको लागी नेपाली युवाहरूले बैदेशिक रोजगार रोज्न बाध्य भएका छौं । बिदेशमा रगत र पसिना बगाएर परिवारको सपना पुरा गरेको, सुन्दर नेपाललाई सुन्दार बनाउन र आफ्नो बालबच्चाको भविष्य निर्माण गर्नको लागी महत्वपुर्ण भुमीका खेलेका छौं । त्यति मात्र होइन मुलुकको आमुल परिवर्तनका लागी विदेशमा भएका सबै सचेत नागरिकहरूले धेरै थोरै योगदान गरेका छौं । हामीले नढाटीकन भन्नु पर्दा हाम्रो मुलुकमा जति पार्टी, सामाजिक संस्था, धार्मिक संस्था र जातिय संस्था लगायत जति पनि संस्था छन ति सबै संस्थाको भातृ संस्थाहरू विदेशमा पनि छन । तिनै संस्थाहरूको माध्यामबाट पार्टी नेता साथै मुलुकमा परेको सबै खाले समस्याको समाधानका लागी सहयोग गरिरहेका छौ् । त्यति मात्र होइन मुलुकको आमुल परिवर्तनमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गरिरहेको कुरा घाम जत्तिकै छर्लंग छ । नेपालको राजनितिक पार्टीको हकमा त पार्टीका नेताहरूको विदेश घुम्ने. उपाहार लिने र चुनाव खर्च जुटाउने थलोको रूपमा परिचित छ । पार्टी र नेतालाई सहयोग गर्नु विदेशमा रहेका नेपालीहरूको काम र कर्तव्य नै हो जस्तो गरिन्छ । विदेशमा भएकाहरूले पनि हामीहरूले मुलुकको परिवर्तनका लागी नेताहरूले गरेको योगदानलाई सम्मान गर्नु पर्छ र आवश्यक सहयोग गर्नु पर्छ भन्ने भावना बोकेका हुन्छौं । त्यसकारण नेपालका नेता, पार्टी, बुद्धिजीवी र समाजसेवीहरू मुलुक बैदेशिक रोजगारको रेमिटेन्सले चलेको छ भन्ने कुरा स्वीकार गर्दा छन तर विदेशमा रहेका नेपालीहरूको समस्या समाधानमा भने नेपालका पार्टी नेताहरूले कहिलै चासो राखेन । यसको सबुद प्रमाण हो । बिदेशमा आवसिय सुबिधा लिएका नेपालीलाई नागरिकताबाट बंचित गर्नु । यो दुखत बिषय बनेको छ ।
हङकङमा नेपालका आदिवासी जनजातिहरूको बाहुल्य कसरी भए :-
गोर्खाका सन्तानहरू जो बेलायत र हङकङमा गएका छन । उहांहरू अधिकारको उपभोग गर्न गएका हुन । बेलायत सरकारको शान्ति सुरक्षा र बिकास निर्माणका लागी महत्वपूर्ण योगदान दिए बापत बेलायत सरकारले हङकङमा जन्मेका गोर्खाका सन्तानहरूलाई आवसिय सुबिधा दिए । हामी सबैलाई थाहा छ गोर्खा भर्तिको शिलशिला नेपालको आदिवासी जनजातिहरूलाई राज्यले अघि सारे । राज्यको आदेशलाई सिरोपर गरि लाखौं आदिवासी जनजातिका छोराहरू बेलायती सेनामा भर्ती भए । नेपालका शासकहरूको स्वार्थका लागी बलिदान दिए । त्यसैको उपहार स्वारूप आदिवासी जनजातिहरूको हङकङमा प्रवेश गरेको हो र बाध्यवस गोर्खाहरूले यसलाई अवसर भन्न परेको कुरा स्पष्ट बुझ्न सकिन्छ ।

 

हङकङमा नेपाली आदिवासी जनजातिहरूले किन आदिवासी जनजाति मुलका महाबाणिज्यदुत माग गर्नु पर्यो :-
नेपालका आदिवासी जनजातिहरू सिधा साधा त छदै छ । त्यसमा पनि गोर्खा सेनाका सन्तान जसले इमान्दार, कर्तव्यनिष्ट, शहनशिल र बहादुरको पहिचान विश्वमा चिनाएको थिए गोर्खाहरूले । उनिहरूमा कुनै किसिमको षडायन्त्र र स्वार्थ हुदैन थिएन । आफ्नो काम पर्दा मुख मिलाउन नजान्ने र जाने पनि आवश्यक नठान्ने यो नै गोर्खाका पहिचान हो । यो सोझो पनको फाउदा उठाएका थिए तत्तकालिन महाबाणिज्यदुतहरूले । अर्को पक्ष नेपालमा आमुल परिवर्तनका लागी नेपालका आदिवासी जनजातिहरूको महत्वपुर्ण योगदानका कारण निरंकुश राजतन्त्रको अन्त । लोकतान्त्रिक गणतन्त्रको उदय भएको थियो । संघियता, समानुपातिक, समावेशिता, सहभागिता र समानधिकारको पक्षमा आदिवासी जनजातिहरू थिए । मुलुकको आमुल परिवर्तनका समयमा मुलुकको पार्टी नेताहरूले पनि यसलाई सहर्ष स्वीकार गरेका थिए । मुलुकको आमुल परिवर्तनमा हङकङमा बसोवास गर्ने नेपालीहरूले पनि कांधमा कांध मिलाएर महत्वपुर्ण योगदान गरेका थिए । अर्को तिर तत्तकालिन महाबाणिज्यदुतहरूको रबैया निरंकुश शासकहरूको पालामा जे थियो परिवर्तन थिएन । किन भने उनिहरू निरंकुश शासकहरूले जन्माएर हुर्काएका सक्ति सम्पन्न व्यक्तिहरू हुन्थे । आदिवासी जनजातिहरूको सोझो पनको फाइदा लुट्न खोज्ने, नजायज दुख्ख दिने, आदिवासी जनजातिहरू संस्थाहरूको बिरोध गर्ने, हिन्दु धर्म संस्कृति र चाडपर्वलाई मात्र सम्मान गर्ने, बहुसंख्यक आदिवासी जनजातिहरूको धर्म संस्कृति चाडपर्वलाई अपहेलना गर्ने , अनैतिक धन्दा गर्नेहरू उसका बिश्वासिलो पात्र बनाउनु , हङकङमा रहेका नेपालीहरूको काममा ढिला सुस्ति र दुख्ख दिने आदि कारण मुख्य हो । झनै हङकङमा आवसिय सुबिधाका लागी गएका गोर्खाका सन्तानहरूलाई हेर्ने दृष्टिकोण नै फरक थियो । हङकङमा आवसिय परिचय पत्र लिने सम्बद्धमा त नेपाल देखी हङकङ सम्ममा मुलुकको कर्मचारी तन्त्रलाई गोर्खाका सन्तानहरूले कयौं थैली भेटी चढाए र चढाउनु पर्यो गणना गरेर सकिने अवस्था छैन । यसबाट मुक्ति पाउनका पनि आदिवासी जनजाति मुलका महाबाणिज्यदुत माग गरेको हो ।
आन्दोलनलाई सहयोग गर्नु हुने सबै हङकङवासी नेपाली समुदय प्रति हार्दिक धन्यवाद:-
पंतिकार हङकङमा आदिवासी जनजाति मुलका महाबिणिज्यदुत पठाइओस भन्ने शान्तिपूर्ण आन्दोलनको एक सदस्यको नाताले हङकङवासी दाजु भाई, दिदी बहिनीहरू, संघ संस्था, बुद्धिजीवी, पत्रकार र समाजसेवी महानुभावहरूमा हङकङमा नेपाल आदिवासी जनजाति महासंघको मागलाई अन्तर आत्मा देखिनै सहयोग गरि दिनु भएकोमा हार्दिक आभारप्रकट र धन्यवाद टक्रयाउन चाहान्छु । आन्दोलनको क्रममा पर्न गएको समस्या प्रति क्षमा माग्न पनि चाहान्छु । आन्दोलनको समयमा बिरोध गर्न नसकेता पनि महाबाणिज्यदुतको नजिकको पात्र बन्न चाहानेहरू हङकङमा नभएको हैन तर यो संख्या अत्यन्त न्युन रहेको थियो । ति पात्र जो यहांहरू मौन बसि दिनु भयो । यहांहरू प्रति पनि आभारप्रकट र धन्यवाद भन्न चाहान्छु ।
तत्कालीन महाणिज्यदुतहरूमा क्षमा यचना गर्न चाहान्छु :-

 

यस भन्दा पहिलेका महावाणिज्यदुतहरूले नेपाली समुदयको हरेक क्रियाकलपमा खुलेर सहभागी हुन पाउनु भएन । सामाजिक बहिष्कार जस्तो अपमान सहनु पर्यो । हामीले बुझेका छौं । यो गल्ति तपाइहरूको होइन राज्यको हो । हामीले भनेका थियौं कि तपाइहरू नआउनु होस । तपाइहरू सचिव, मुख्य सचिव साथै सम्बैधानिक अंगका प्रमुख बन्नु होस तर हाम्रो कुरा न उहांहरूले सुने न राज्यले । आदिवासी जनजाति महासंघको माग जायज थियो । यो जायज मागको लागी हामीले गरेको मागको उदेश्यको मुल्यांकन पनि यहांहरू जस्ताले गर्न नसक्ने कुरै भएन । सत्यको एक दिन जित हुन्छ भन्ने हामीले सोचेका थियौं । मुलुकमा निरंकुश राज संस्था हुदा सम्म त आश गर्ने कुरा भएन तर मुलुकको परिवर्तन पछि पनि हाम्रो आवाजलाई सुनेन ।जसको कारण कति नेताले कालो झण्डाको स्वागत खेप्नु पर्यो । कति नेता स्यालको चालबाट हङकङमा छिरेर फिर्ता हुनु पर्यो । कति नेता हङकङ छिर्न समेत सकेन ।
आन्दोलनको हकमा कस्तो थियो :-
आन्दोलन शान्ती पुर्ण थियो तर अत्यन्त पेचिलो थियो तर आदिवासी जनजातिहरूको पक्षमा मिडिया थिएन । आन्दोलनको सही कुरा सम्प्रेषण कतै भएन । महाबाणिज्यदुतलाई ससम्मान नआउन आग्रह गरिएको थियो । उहाहरूलाई हङकङमा बाहेक मुलुकमा र अन्य मुलुकमा सम्मानीत पदमा सम्मान सरकारले गरोस भन्ने चाहाना आन्दोलनको ध्येय थियो । सामाजिक बहिष्कार गरिएको थियो । देशको प्रतिनिधिले कतै जना नपाउनु र सामाजिक बहिष्कार जस्तो अपमान हुनु कस्तो अवस्था होला । हामी सबैले बुझ्न पर्ने कुरा हो । यो हाम्रो चाहाना नहुंदा नहुंदै राज्यका कारण बाध्य भएका थियौं ।
आन्दोलनको नेतृत्व प्रति सबैले सम्मान गर्न जरूरी देखिन्छ :-
आदिवासी जनजातिहरूको मागलाई नेतृत्वले गरेको संघर्षको भुमीका अत्यन्त महत्वपूर्ण र प्रशौसनिय छ । आदिवासी जनजाति आन्दोलनका लागी महासंघका लागी नेतृत्व गर्ने नरहांग राई, भुपेन्द चेम्जोंग, मैनबहादुर थापा बर्तामान अध्यक्ष किसान राइको भुमिका महत्वपुर्ण भएको कुरा कसैले बिर्सनु हुदैन । उहांहरूको कुशल नेतृत्वका कारण आदिवासी जनजाति महासंघ हङकङको आन्दोलनलाई ९८% हङकङमा रहेका नेपालीहरूको समर्थन गरेका थिए तर नालायक राज्य सत्ता मौन थिए । आदिवासी जनजाति महासंघको मागलाई देख्न नसक्नेहरू नगन्ने रूपमा मात्र होइन । तिनीहरू समाजबाट तिरस्कृत र स्वार्थका खेती गर्ने पात्रहरू थिए । उहांहरूलाई पनि नेतृत्वले आफ्नो बसमा ल्याउन सफल भएका थिए । हिजोका दिनमा आन्दोलनको बिरूद्धमा लागेको पात्रहरू मलाई लाग्छ आदिवासी जनजाति मुलका महाबाणिज्यदुतलाई स्वागत गर्ने र खादा लाउने पनि तिनै पात्रहरू अगाडी हुने छन ।
आदिवासी जनजाति मुलका महाबाणिज्यदुत आउदैमा ठुलो आश नगरौं तर हिजोको भन्दा फरक होस :-

 

आदिवासी जनजाति मुलका महाबाणिज्यदुत आउदैमा ठलो परिवर्तन हुन्छ भन्ने छैन । आदिवासी जनजातिहरू कुनै पनि तह तप्का होस मुख मिलाउन सम्म जान्दैनन । किन भने मुख मिठो हुनेहरूको मन राम्रो हुदैन । मुख मिठो हुनेहरू तिनै अनैतिक क्रियाकलाप गर्नेहरूसंग मिलेको हुन्छ । मुख नमिलाओस तर छिटो छरितो तरिकाले काम होस । अनयासमा दुख्ख नदियोस । भ्रष्ट अनैतिक काम गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइओस । कसैलाई पनि भेदभाव नगरिओस । सबैलाई समान दृष्टिले हेरिओस । हङकङ र नेपालको सम्बन्ध सुमधुर बनाइओस । एउटा सक्षम, दक्ष, इमान्दर र कर्तव्यनिष्ट व्यक्तिले नयां नेतृत्व लिए पछि नयां कुरा सृजना गरि हिजोका ग़लत संस्कृति र परम्परालाई समाप्त पार्नु नै महान योगदान मानिन्छ । आशा छ आदिवासी जनजाति मुलका महाबाणिज्यदुत श्री उदय राना मगर यस बिषयमा जानकार हुनु हुन्छ ।
अस्तित्व र पहिचानका लागी काम गर्दाका अनुभव :-
हङकङमा केही गरौं भन्ने समुहलाई समाप्त पार्न सक्रियहरूका कारण हारेका समाजसेवीहरू मध्येमा यो पंतिकार पनि एक हो ।
कुरा ठुलो गर्ने तर समाजका हितका लागी गर्न खोज्नेहरूको खुट्टा तान्नेहरू आज हङकङमा टाउको उठाउदै लुकाउदै हिडिरहेका छन । नेपाली भाषाको, शिक्षाको, संस्कृतिको र पहिचानको कुरा गरि हिडेको देख्दा लाज लाएर आउने अवस्था हामीलाई भएको छ । जो व्याक्तिहरू नेपालीको अस्तित्व र पहिचान जोगाउन लागी सृजना भएका संरचनाका स्तम्भहरू भत्काउन अहो रात्र खटे । आज हङकङमा नेपाली समुदयको त्यति ठुलो उपस्थिती भएता पनि आफ्नो अस्तित्व र पहिचान संग गासिएका बिषयहरूको संरक्षण र संम्बर्धन गर्ने स्तम्भहरू बनेको छैन । यो दुखद कुरा हो । नेपाली समुदयले गोरव गर्न लायक स्तम्भहरू निर्माण गर्न खोज्दा भत्काउनेहरूको जित भएकोमा अत्यन्त दुखी बनेको छु । समाजका केही तत्व र नेपाल सरकारले नेपाल आदिवासी जनजाति महासंघ हङकङले आन्तरिम संबिधानलाई सम्मान गर्दा, आमुल परिवर्तनका भावनालाई व्यावहारमा उतार्न खोज्दा हामी माथी बिभिन्न खालको आरोप लगाइयो । सामाजिक सद्भाव बिथोल्न खोजे । सांप्रदायिक दंग भड्काउन खोजे । बिभाजनकारी जस्ता पगरी गुथाइयो । तिमीहरू सक्षम पनि हुनु पर्यो । तिमीहरूको मान्छे सहसचिव पनि हुनु पर्यो नी जस्ता कुराहरू गर्थे । हामीले आदिवासी जनजाति मुलका सहसचिवहरूको सुचि समेत दिएका थियौं तर हामीले बुझेका कुरा के हो भने हङकङमा महाबाणिज्यदुत बन्न मुलुकमा ठुलो दौडधुप चलखेलचल्दो रहेछ । त्यसका कारण के हो बुझ्न त्यति गार्हो नहोला ।
अन्तमा नेपाली समुदयको हितका लागी काम गर्न चाहाने, स्वार्थका खेती नगर्ने र हङकङको राजनितीमा संलग्न नहुना कारण हामीले उठाएको बिषयहरूले पुर्णता पाएन । आखिर राजनिती महत्वपुर्ण बिषय रहेछ भन्ने कुरा पंतिकारको बुझाइ छ । शासकहरू कहिलै पनि कुनै पनि दयालु मन भएका र सहजरूपले जनताका आवाजलाई स्वीकार गर्दो रहेनछ भन्ने बिषयमा हङकङवासी नेपाली समुदय स्पष्ट भएका छन । हङकङमा आदिवासी जनजाति मुलका महाबाणिज्यदुत आएता पनि खासै परिवर्तन त केही हुन सक्दैन किन भने राज्य सन्चालनका परिपाटीमा खासै परिवर्तन आएको देखिदैन । महाबाणिज्यदुतले पनि नुनको सोझो गर्नु पर्यौ । हामीले देखेको कुरा के हो भने नया ठाउंमा नयां जिम्मेवारी लिएको व्यक्ति वा पदाधिकारीले जनताको हितको लागी नयां कुरा ल्याउने र नयां चिनो छोडेर इतिहास रचोस भन्ने हाम्रो चाहाना हो । यसका लागी हामीले पाइला चाल्न खोजियो । गन्तव्य स्थानमा पुग्नका लागी हामीले भोग्न परेको सम्पुर्ण घटना बिबरण यहां उल्लेख गर्न सकिने अवस्था छैन । राज्यले हाम्रो मागलाई संबोधन गरेको कारण हिजोका दुख्खका घाउहरू आज निको भएको छ । पुन नेपाल सरकारलाई नेपाल आदिवासी जनजाति महासंघ हङकङले घोडा टेकायो भन्ने वाला हामी छैनौं तर जनताको आवाज स्वीकार नगरी सुख्खै छैन र माग पुरा गरि छाड्छौं भन्ने संकल्प पुरा भएको छ । यो जित हङकङेली नेपालीको जित हो । आमनेपालीको जित हो । यो नेपाल सरकारको जित हो । यो आदिवासी जनजातिको जित हो । उदय राना मगर ज्युलाई पुन बधाई । हाम्रो मागलाई पुरा गर्न नेपाल सरकारको सहसचिव बनेर आदिवासी जनजातिको शिर उच्चो पारि दिनु भयो । नेपालको आदिवासी जनजातिको कुशल भुमी पु्त्रको सदस्य भएर हङकङका लागी नेपाली महाबाणिज्यदुत जस्तो गरिमामय पदमा पुगेर इतिहास रच्न सफल हुनु भयो । सफल कार्यकालको लागी शुभकामना ।
भक्तबहादुर दुरा
दुरा सेवा समाजको संस्थापक अध्यक्ष,
पुर्व सचिव नेफिन नेपाल,
सल्लाहकार नेफिन हंगकंग,
सल्लाहकार नेफिन युके ।

Loading...